वीरगन्जस्थित नारायणी अस्पतालको डायलासिस युनिटमा मेसिन मर्मत गर्दै आविष्कार केन्द्रका बायोमेडिकल इन्जिनियर ।

सरकारी अस्पतालमा पुग्ने प्रायः बिरामी डाक्टरले सिफारिस गरेका परीक्षणका लागि निजी ल्याबतिर दौडिनुपर्छ । कतिपय उपचार वा अपरेसन हुँदैन । सरकारी अस्पतालले आफ्ना उपकरण बिग्रिएका कारण अन्यत्र जान सुझाउँछन् । यसले बिरामीमा हैरानी र आर्थिक बोझ थप्छ, अस्पताल स्वयंले आम्दानी गुमाउँछ । वर्षौंदेखिको यस्तो समस्या अब भने न्यूनीकरण हुने आधार बनेको छ ।
राष्ट्रिय आविष्कार केन्द्रले १० वटा संघीय अस्पतालमा बिग्रिएर थन्किएका त्यस्ता उपकरणको मर्मत गरेपछि त्यहाँ अवरुद्ध हुँदै आएको कैयौं सेवा पुनः सञ्चालन हुने स्थिति बनेको छ । यसबाट अस्पतालदेखि बिरामीसम्मले लाभ पाउने आधार बनेको छ । बिग्रिएका उपकरण मर्मतको यो सुरुवात सकारात्मक छ । यसलाई देशव्यापी बनाउन आवश्यक छ ।
स्वास्थ्यमन्त्री प्रदीप पौडेल र आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले १७ संघीय अस्पतालका उपकरण मर्मत र व्यवस्थापनका लागि गत भदौमा सम्झौता गरेका थिए । सम्झौतापछि केन्द्रको बायोमेडिकल इन्जिनियरको टिमले अस्पतालका गोदाममा थन्किएका ६ सय ६० उपकरणको विस्तृत जाँच/परीक्षण गरी रिपोर्ट तयार पारेको थियो ।
केन्द्रले थन्किएर बसेका ४ सय ८४ उपकरण मर्मत गरेको छ । यसरी करिब २४ करोड ३० लाख मूल्य पर्ने ती उपकरण मर्मतपछि प्रयोग हुन थालेका छन् । यसक्रममा भेन्टिलेटर, डायलासिस मेसिन, एनेस्थेसिया मेसिन, भिडियो एक्सरे अटो क्लेभ मेसिन, ब्लडप्रेसर मनिटर, ईसीजी मेसिन, पेसेन्ट मनिटरलगायत मेसिन मर्मत गरिएको हो । १ सय ७६ वटा उपकरण भने पार्टपुर्जा चाहिने भएकाले मर्मत गर्न बाँकी छ ।
थन्किएका मेसिन पुनः सञ्चालनमा आउँदा सम्बन्धित अस्पतालले दिने सेवा थप बृहत् बन्छ । त्यसले अस्पतालको प्रतिष्ठा र आम्दानी बढोत्तरीमा योगदान गर्छ । अस्पताल आर्थिक रूपमा सबल बन्दै जाँदा बिरामीले पाउने चिकित्सकीय तथा भौतिक सुविधामा पनि वृद्धि हुने आधार बन्छ । यस्तो परिस्थितिमा सेवाको गुणस्तरमा स्वस्थ प्रतिस्पर्धाको वातावरण निर्माण हुन्छ । अर्कोतर्फ, बिरामीले पनि एकै थलोमा बढीभन्दा बढी सेवा पाउन सक्छन् । सरकारी अस्पताल भएकाले उनीहरूको आर्थिक लागत पनि कम हुन्छ ।
अहिले कैयौं अस्पतालमा कमिसनको लोभमा नयाँ स्वास्थ्य उपकरण भित्र्याउने प्रवृत्ति पनि छ । एकथरीले सञ्चालनको आधार नहुँदा नहुँदै पनि उपकरण किन्ने, त्यसमा कमिसन खाने र उपकरण भने थन्क्याउने गरेको पाइन्छ । अर्को थरीले सामान्य ढंगले बिग्रिएका उपकरणलाई पनि मर्मत गरेर सञ्चालन गर्नेतर्फ रुचि नराख्ने बरु कमिसनकै लोभमा नयाँ उपकरण खरिदका लागि पहल गरेको पाइन्छ ।
आविष्कार केन्द्रले मर्मतका क्रममा मुसाले काटेको तारसमेत जडान नगरी उपकरण थन्क्याएको समेत पाउनुले अस्फतालसम्बद्ध अधिकारीको गैरजिम्मेवार र हेलचेत्र्याइँ प्रवृत्तिको उजागर गर्छ । उल्लेखित दुवै प्रवृत्तिले अन्ततः राज्यको ढुकुटीको दोहन भइरहेको छ । तर थन्किएका उपकरण मर्मत र सञ्चालन हुन थालेपछि कमिसनको एउटा पाटो अवरुद्ध हुने निश्चित छ । यसले अन्ततः राष्ट्रकै ढुकुटीको बचत हुनेछ । साथसाथै, अनावश्यक काममा भइरहेको खर्च अर्को रचनात्मक काममा लगाएर फाइदा लिने अवसर पनि प्राप्त भएको छ ।
राष्ट्रिय आविष्कार केन्द्रको पहलकदमी र लगाव पनि प्रशंसनीय छ । केन्द्र आफैं सीमित स्रोत र साधनबाट चलिरहेको सार्वजनिक जानकारीमै भएको विषय हो । उसलाई जनशक्ति पनि अभाव छ । स्वास्थ्य उपकरणको मर्मतकै लागि पनि उसले बायोमेडिकल इन्जिनियर अभाव झेलेको छ । यद्यपि, उसले विभिन्न क्षेत्रका उपकरण निर्माण गर्दै आएको छ । दुई दशकदेखि बन्द रहेको वीरगन्जस्थित कृषि औजार कारखानाको पुरानो मेसिनलाई केन्द्रले गरेको मर्मतपछि उत्पादनयोग्य भएको छ । त्यस्तै, केन्द्रले विभिन्न अस्पतालसँग छुट्टै सम्झौता गरेर पनि बिग्रिएका मेसिन मर्मत गर्दै आएको छ । केन्द्रको प्रयत्नलाई प्रोत्साहन गरिन आवश्यक छ ।
अहिले स्वास्थ्य उपकरण मर्मत भए जस्तो अन्य क्षेत्रका उपकरण तथा सामग्री पनि मर्मत तथा पुनः सञ्चालन हुने स्थिति बनाउन सक्दा सार्वजनिक खर्च घट्न सक्छ । आविष्कार केन्द्र स्वयंको सीप विकास हुन्छ । नयाँ पुस्तामा सीप हस्तान्तरण हुन्छ । त्यस्तो सीप र क्षमतालाई हामीकहाँ पूर्वाधार निर्माणदेखि विकास आयोजनामा प्रयोग गर्न सकिने स्थिति बन्छ । जसले रोजगारी सिर्जना त गर्छ नै, राष्ट्रिय आत्मविश्वास पनि बढाउँछ ।
त्यसैले राष्ट्रिय आविष्कार केन्द्रले गरेको स्वास्थ्य उपकरणको मर्मतले अस्पताल पुग्ने बिरामीको मात्रै होइन, राष्ट्रिय आत्मविश्वासको पनि आधार निर्माण गरेको छ । यसलाई थप बृहत् बनाउन भने सरकारदेखि नवप्रवर्तनमा रुचि र लगाव राख्ने सबैले निरन्तर पहल गरिराख्नुपर्छ ।