स्वास्थ्य मन्त्रालयले सार्वजनिक गर्‍यो १४ संघीय अस्पतालमा नयाँ सेवा थप्ने कार्यतालिका

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत महिनाभर १४ वटा संघीय अस्पतालमा नयाँ सेवा थप्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ।

१४ वटा अस्पतालमा चैत महिनाभित्र १८ विभिन्न सेवा तथा सुविधा थप गरिने गरी तयारी गरिएको स्वास्थ्य सचिव डा. विकास देवकोटाले जानकारी दिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नागरिकलाई थप सुविधा हुने गरी सेवा थप तथा सुधारमा जोड दिँदै आएका छन्। सोहीअनुसार संघीय अस्पतालहरुले सेवा विस्तार तथा थप गर्न मन्त्रालय अग्रसर भएको हो। 

मन्त्रालयको तालिकाअनुसार अस्पतालहरुमा एक्सरे फिल्म हटाउनेदेखि आईभीआर सेवा थाल्ने, शय्या विस्तार गरिनेछ। 

यसअनुसार वीर अस्पतालमा चैत दोस्रो साता काठमाडौं महानगरसँगको सहकार्यमा सर्भाकल क्यान्सरको परीक्षण सेवा आरम्भ हुनेछ।

वीरसँगै ट्रमा सेन्टरले चैत महिनाभित्र एमआरआई, सीटीस्क्यान तथा एक्सरेमा फिल्म प्रयोग हटाएर डिजिटल बनाउने भएको छ। त्यसैगरी
भरतपुर अस्पतालले क्याथ ल्याब चैत महिनाभित्र सञ्चालन गर्ने तयारी गरेको छ।

यता पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले न्युरोलोजी सेवामा इलेक्ट्रोमाइलोग्राफी तथा एनसीभी परीक्षण चैत महिनाभित्र थप गर्नेछ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले फरेन्सिक विभागबाट ७२ शव राख्न सक्ने गरी चैतभित्र क्षमता विस्तार गर्नेछ भने बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमसीएच भवन उद्घाटन गरेर ओपीडी चैत दोस्रो साताभित्र आरम्भ गर्नेछ।

कान्ति बाल अस्पतालले बालबालिकाका लागि हेमोडाइलासिस सेवा चैत्र तेस्रो साताभित्र आरम्भ गर्नेछ।

यसैगरी, भक्तपुर क्यान्सर अस्पतालले चैत अन्तिम साताभित्र ४ शय्याको पीआईसीयू स्थापना तथा बाल क्यान्सर उपचार वार्ड विस्तार गर्नेछ। परोपकार प्रसूति अस्पतालले भने कुपण्डोलको नयाँ भवनमा सिमुलेसन प्रयोगशाला आरम्भ गर्नेछ।

तनहुँको बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास केन्द्रले चैत दोस्रो साताभित्र हेमोडाइलासिस सेवा थाल्ने कार्यतालिका छ।
उता डडेलधुरा अस्पतालमा एकीकृत ल्याब नमूना शंकलन सेवा चैत तेस्रो साताभित्र सुरु हुनेछ।

नारायणी अस्पतालले एनआइसीयूमा इउमआर लागू गर्ने, हिस्टोप्याथोलोजी सेवा थाल्ने, कोल्पोस्कोपी सेवा तथा क्रिटोथेरापी सेवा चैत तेस्रो साताभित्र थाल्ने तयारी गरेको छ। भेरी अस्पतालले भने १० आईसीयू शय्या थपसँगै जलन वार्डमा ६ शय्या थप गर्ने तयारी गरेको छ।

चैतभित्र सबै सेवा नागरिकले प्राप्त गर्ने मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारी दिए ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *