विद्युतीय चिकित्सा अभिलेख आवश्यक

नेपालमा बिरामीको परीक्षणसम्बन्धी जानकारी विद्युतीय रूपमा स्वास्थ्य संस्थाले प्राप्त गर्न सक्ने गरी एकीकृत प्रणाली लागू गर्न ढिला भइसकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा प्रवाहलाई प्रविधियुक्त, यथार्थपरक, दक्षतामा आधारित, पहुँचयोग्य र सेवाग्राही मैत्री बनाउनका निमित्त विद्युतीय चिकित्सा अभिलेख (इलेक्ट्रोनिक मेडिकल रेकर्ड) प्रणाली सुरु गर्नु जरुरी छ । यस्तो प्रणाली पश्चिमा तथा विकसित मुलुकले लामो समयदेखि प्रयोगमा ल्याइरहेको भए पनि नेपालमा भने यसको अभ्यास अहिलेसम्म सुरु भएको छैन ।

विद्युतीय चिकित्सा अभिलेख (ईएमआर) भनेको हरेक व्यक्तिको मेडिकल रेकर्ड डिजिटल माध्यमबाट सुरक्षित राख्ने प्रणाली हो । यसअन्तर्गत कुनै पनि स्वास्थ्य संस्थाले आफूसँग सेवा लिएका बिरामीको रेकर्ड तोकिएको प्रणालीमा ‘युनिक कोड नम्बर’ वा ‘युनिक हेल्थ नम्बर’ सहित अभिलेख गर्नुपर्ने हुन्छ । देशको जुनसुकै ठाउँबाट यसलाई विद्युतीय रूपमा खोज्न वा हेर्न मिल्छ भने अधिकारप्राप्त स्वास्थ्यकर्मीले बिरामीको पुरानो इतिहास हेरी तत्काल उपचारसम्बन्धी उचित निर्णय पनि लिन सक्छन् ।

हालै स्वास्थ्यमन्त्री प्रदीप पौडेलको नेतृत्वमा मन्त्रालयले ‘एकीकृत विद्युतीय चिकित्सा अभिलेख प्रणाली (ईएमआर) सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०८१’ जारी गरेको छ । स्वास्थ्यविज्ञहरूले लामो समयदेखि नेपालमा विद्युतीय चिकित्सा अभिलेख प्रणाली लागू गर्नुपर्नेमा जोड दिँदै आएका थिए । खासगरी डिजिटल नेपाल फ्रेमवर्क, राष्ट्रिय ई–हेल्थ रणनीति २०७४, राष्ट्रिय स्वास्थ्य नीति २०७६, ई–हेल्थ मार्गनिर्देश २०७६ लगायतमा पनि ईएमआरको आवश्यकता र महत्त्वको चर्चा गरिएको थियो ।

मुलुक संघीय प्रणालीमा गएसँगै तीनै तहका सरकारले विद्युतीय स्वास्थ्य सूचना व्यवस्थापनबारे काम सुरु गरेका थिए । ती सबै प्रयासलाई यो निर्देशिकाले राष्ट्रियस्तरमै व्यवस्थित र एकीकृत गर्ने अपेक्षा छ । निर्देशिकामा सेवाग्राहीको स्वास्थ्य विवरणलाई कुनै पनि सरकारी आधिकारिक कागजपत्रजस्तै स्वास्थ्य बिमा, राष्ट्रिय परिचयपत्र, नागरिकता, मतदाता परिचयपत्र, सवारी चालक अनुमतिपत्र वा ज्येष्ठ नागरिक लगायतका वैयक्तिक विवरण खुल्ने सरकारी मान्यता प्राप्त परिचयपत्रका आधारमा स्वास्थ्य तथ्यांक व्यवस्थापन गर्नुपर्ने व्यवस्था छ । यस्ता नम्बरको संयोजनबाट अद्वितीय पहिचान नम्बर (युनिक आइडेन्टिटी नम्बर) प्रदान गर्नुपर्ने हुन्छ ।

निर्देशिकाले विद्युतीय चिकित्सा अभिलेख प्रणाली सञ्चालन तथा व्यवस्थापनका लागि मन्त्रालयमा छुट्टै स्रोतकेन्द्र स्थापना, प्राविधिक कार्य समिति गठन तथा प्रादेशिक समन्वय समितिको व्यवस्था पनि गरेको छ । निर्देशिकाले विश्वविद्यालय तथा प्राज्ञिक संस्थासँग साझेदारी गर्ने बाटोसमेत खोलेको छ । कुनै पनि बिरामीको उपचारसम्बन्धी जानकारी एउटै युनिक आईडीमा सुरक्षित राखिने हुनाले यो प्रणालीले नेपालको स्वास्थ्य उपचार पद्धतिमै आधारभूत परिवर्तन ल्याउने अपेक्षा गर्न सकिन्छ ।

यसबाहेक मेसिनले पढ्न मिल्ने (क्यूआर कोड) प्रयोग गरिने यस्तो प्रणालीको अभ्यासबाट स्वास्थ्य संस्थाबीच समन्वय र दक्षता, तत्काल ‘रियल टाइम’ मा सही जानकारी प्राप्त हुने, बिरामीको स्वास्थ्य उपचारमा सुधार, सम्बन्धित स्वास्थ्य संस्था तथा चिकित्सकले सुरक्षित रूपमा सूचना आदानप्रदान गर्न सक्ने र बिरामी स्वयंले आफ्नो मेडिकल रेकर्ड प्राप्त गरी उपयुक्त निर्णय लिन सक्नेछन् । यसले सरकारलाई संकलित तथ्यांकको विश्लेषण गरी जनस्वास्थ्यसम्बन्धी रणनीति तय गर्न पनि सघाउने छ । साथै स्वास्थ्य बिमाको दाबी, अनुगमन र स्वीकृति गर्ने प्रक्रियामा समेत यसले पारदर्शिता र जवाफदेहिता ल्याउने विश्वास गर्न सकिन्छ । यदि कुनै स्वास्थ्य संस्थाले टेलिमेडिसिन सेवा प्रदान गरिरहेका छन् भने अनिवार्य रूपमा विद्युतीय अभिलेख राख्नुपर्ने छ । त्यस्तै निर्देशिका लागू भएको एक वर्षभित्र सबै अस्पतालले अनिवार्य रूपमा यो प्रणाली स्थापना गर्नुपर्ने छ ।

अन्तर्राष्ट्रिय अनुभव

यो प्रणालीको कार्यान्वयन गर्दा प्रमाणमा आधारित निर्णय प्रक्रिया (एभिडेंस बेस्ड डिसिजन मेकिङ) मा सघाउ पुग्नुका साथै बिरामीको स्याहारमा अझ राम्रो समन्वय हुने अन्तर्राष्ट्रिय अनुभवले देखाएका छन् ।

अमेरिकाका विभिन्न अस्पतालमा गरिएको अनुसन्धानले ईएमआर लागू गरेपछि त्यहाँका अस्पतालबाट प्रदान गरिने स्वास्थ्य सेवा छिटोछरितो र भरपर्दो हुनुका साथै लागत पनि घटेको देखाएका छन् । साउदी अरेबियामा गरिएको एक अध्ययनले ईएमआर लागू गरिएपछि बिरामीहरूले पहिलेको तुलनामा उपचार तथा चिकित्सकसँग परामर्श अनुभव राम्रो रहेको बताएका थिए । त्यस्तै, नाइजेरियामा गरिएको अर्को अध्ययनले ईएमआर लागू गरिएपछि त्यहाँका स्वास्थ्य केन्द्रहरूमा बिरामीले पालो पर्खनुपर्ने समय घटेको र चिकित्सकको परामर्शबाट सन्तुष्ट रहेको जनाएका छन् ।

भारतले सेप्टेम्बर २०२१ मा ‘आयुष्मान भारत डिजिटल मिसन’ लागू गरेयता गएको झन्डै साढे तीन वर्षमा ६७ करोडभन्दा बढी ‘आयुष्मान भारत हेल्थ एकाउन्ट्स’ हरू खोलिसकिएको जनाएको छ । भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले जनाएअनुसार ४२ करोडभन्दा बढी बिरामीको स्वास्थ्य अभिलेख आयुष्मान भारत हेल्थ एकाउन्ट्समा जोडिसकिएको छ भने १७ हजार निजी अस्पतालसहित १३ लाख स्वास्थ्य संस्था उक्त योजनामा आबद्ध भइसकेका छन् ।

अवसर र चुनौती

सन् २००६ मा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रकाशित गरेको ‘इलेक्ट्रोनिक हेल्थ रेकर्ड ः म्यानुएल फर डिभेलपिङ कन्ट्रिज’ मा ईएमआर लागू गर्न खोज्दा कम्प्युटर र यससँग सम्बन्धित प्रणाली खरिद गर्न स्रोत अभाव, पर्याप्त प्रशिक्षित जनशक्ति अभाव, संकलन गरिएको डेटा सुरक्षा तथा बिरामीले मागेका बेला ती डेटा पाउन सक्छन् कि सक्दैनन् भन्नेजस्ता प्रश्न उठ्न सक्ने उल्लेख गरेको छ । यस्ता समस्याको निराकरणका लागि सुरुदेखि नै ध्यान दिन आवश्यक छ । त्यस्तै, प्राविधिक पूर्वाधार, साइट तयारी र सिस्टम टेस्टिङ गर्न पनि डब्लूएचओले सुझाव दिएको छ । यसैगरी ईएमआर प्रणाली लागू गर्दा डब्लूएचओले स्मार्ट (स्तरीकरणमा आधारित, मेसिनले पढ्न मिल्ने, प्रणाली अनुकूल, आवश्यकतामा आधारित तथा परीक्षण गर्न मिल्ने) निर्देशिका फ्रेमवर्क प्रस्ताव गरेको छ, जुन नेपालको सन्दर्भमा पनि उपयुक्त हुन सक्छ ।

नेपालले स्वास्थ्य बिमालाई प्रभावकारी बनाउन सुधारको प्रयास गरिरहँदा ईएमआर प्रणालीले यसको जगका रूपमा पनि काम गर्न सक्छ । यसले स्वास्थ्य सेवा प्रणालीलाई डिजिटलाइजेसनतर्फ उन्मुख गराउँदै बिरामीको उपचार प्रक्रियालाई छिटो, सहज र प्रभावकारी बनाउने निश्चित छ । साथै, रोग निदान, डेटा व्यवस्थापन तथा दीर्घकालीन स्वास्थ्य रणनीति निर्माणमा समेत ठूलो योगदान पुग्नेछ ।

यो प्रणालीलाई प्रभावकारी बनाउन देशभरि नै उच्च गतिमा चल्ने इन्टरनेट सुविधा उपलब्ध गराउनु जरुरी छ । बिरामीको स्वास्थ्य सूचना प्राप्त गर्न खोज्दा ‘सर्भर डाउन छ’ भन्ने स्थिति आउन दिनु हुँदैन । निरन्तर विद्युत् आपूर्ति र अविच्छिन्न इन्टरनेट आपूर्ति सुनिश्चित गर्नुपर्छ । यसले थुप्रै रोजगारी पनि सिर्जना गर्न सक्छ । त्यसैले सुरुमा यो प्रणाली केही महँगो भए पनि अन्ततोगत्वा यसको प्रतिफल (रिटर्न अन इन्भेस्टमेन्ट) अत्यन्तै उच्च हुने अन्तर्राष्ट्रिय अनुभवले देखाएका छन् ।

यसका लागि सरकारले ईएमआर प्रणाली बनाउनुपर्छ र निजी संस्थालाई सरकारसँग सहकार्य गरेर जोडिने वा आफैं बनाउने विकल्प दिनुपर्छ । तर उनीहरूसँग रहेको डेटा ‘अप्लिकेसन प्रोग्रामिङ इन्टरफेस’ (एपीआई) को माध्यमबाट जोडेर बिरामीको तथ्यांक कुनै अवरोधबिनै आदानप्रदान गर्न मिल्ने (इन्टरअपरेबल) बनाउनुपर्छ ।

Leave a Comment

Your email address will not be published. Required fields are marked *

Scroll to Top