अन्यन्त्र २४ करोड खर्च हुने १० अस्पतालका उपकरण आविष्कार केन्द्रले २३ लाखमै गर्यो मर्मत

१२ वटा सरकारी अस्पतालले बिग्रिएका उपकरण मर्मत गर्न चासो नै देखाएका छैनन् । गत १८ भदौमा स्वास्थ्यमन्त्री प्रदीप पौडेलले राष्ट्रिय आविष्कार केन्द्रसँग समन्वय गर्दै मर्मत अभावमा थन्किएका संघीयसहितका १७ अस्पतालका उपकरणहरू मर्मत गर्न केन्द्रका प्रमुख महावीर पुनसँग सम्झौता गरेका थिए । त्यसपछि पनि अस्पतालको केही सूची थपिएका थिए ।
केन्द्रले कबाड बनेर थन्किएका उपकरण मर्मत गरेर १० सरकारी अस्पताललाई जिम्मा लगाइसकेको छ । अझै १२ वटा अस्पतालका उपकरण मर्मत गर्न बाँकी छ । अस्पतालले बिग्रिएका उपकरण मर्मत गर्न आग्रह नगरेपछि तत्काललाई मर्मतको काम रोकेको केन्द्रले जनाएको छ । केन्द्रका इन्जिनियर उमेश किराँतीले १० वटा सरकारी अस्पतालका उपकरण मर्मत गरे पनि अझै १२ अस्पतालको बाँकी रहेको बताए । ६ सय ६१ वटा उपकरणको मूल्यांकन गरिएकोमा पाँच सयवटा मर्मत सम्पन्न भएको केन्द्रका किराँतीले बताए ।
‘अस्पतालहरूलाई चाहिने अवस्था भयो भने उहाँहरूले खबर गर्नुहुन्छ अनि बल्ल हामीले मर्मत गर्ने हो,’ उनले भने, ‘आवश्यक पार्टपुर्जा ल्याइदिने काम सम्बन्धित अस्पतालकै हो, हामीले मर्मत गरेर उपलब्ध गराउँछौँ ।’ किराँतीका अनुसार कतिपय अस्पतालले आफैँ मर्मत गर्न सक्ने सामान पनि थोत्रा बनाएर थन्क्याएका थिए । अविस्कार केन्द्रले प्राविधिक सहयोगस्वरूप अस्पतालका उपकरण बनाएर हस्तान्तरण गरेको छ ।
केन्द्रले २३ लाख २० हजार रुपैयाँमा १० वटा सरकारी अस्पतालका पाँच सयभन्दा बढी उपकरण मर्मत गरेर सम्बन्धित अस्पताललाई बुझाएको हो । यदि ती उपकरण बाहिर मर्मत गरेको भए त्यसको लागत २४ करोड ३० लाख रुपैयाँ लाग्ने केन्द्रले मूल्यांकन गरेको छ । तर, केन्द्रले सस्तो मूल्यमै उपकरण मर्मत गरिदिएपछि सरकारको करोडौँ रकम बचेको छ ।
१२ अस्पतालले आवश्यक पार्टपुर्जा खरिद नगरिदिएकाले मर्मतको काम रोकिएको केन्द्रले जनाएको छ । बिग्रिएका उपकरण बनाउन बाँकी अस्पतालमा प्रसूतिगृह थापाथली, बिपी कोइराला क्यान्सर अस्पताल भरतपुर, सुशील कोइराला आँखा क्यान्सर नेपालगन्ज, गजेन्द्रनारायण सिंह अस्पताल सप्तरी, कोशी अस्पताल विराटनगर, डडेलधुरा अस्पताल, नरदेवी आयुर्वेद चिकित्सालय नरेफाँट, ट्रमा सेन्टर, पाटन अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङ छन् । ‘उहाँहरूले खोजी गर्नुभयो भने हामीले बनाउने हो, नत्र बनाउँदैनौ, यसमा पार्टपुर्जा उहाँहरूले नै किनिदिनुहुन्छ, हामीले मर्मत गरेर उपलब्ध गराउँछौँ,’ उनले भने, ‘कतिपय सामान्यभन्दा सामान्य सामान हामी आफैँले पनि किनेर मर्मत गरिदिएका छौँ ।’
प्रसूतिगृहका निर्देशक डा. श्रीप्रसाद अधिकारीले अस्पतालका बिग्रिएका उपकरण मर्मत गर्न दिने विषय छलफलकै क्रममा रहेको बताए । ‘यो विषय अझै छलफलकै क्रममा छ । हामीकहाँ बिग्रिएर कबाड बनेका त्यस्ता मेसिन नै छैनन् । कतिपय मेसिन कम्पनीसँग नै सम्झौताअनुसार उसैले मर्मत गरिदिने गरेको छ,’ उनले भने, ‘यदि त्यस्तो भएमा केन्द्रसँग समन्वय गर्न सक्छौँ ।’
आविष्कार केन्द्रले उपकरण मर्मत गरेर जिम्मा लगाएपछि १० वटा अस्पतालले प्रयोगमा ल्याइसकेका छन् । केन्द्रले काठमाडौंस्थित सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र, वीर अस्पताल, कान्ति बाल अस्पताल, सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन मानसिक अस्पताल, नेपालगन्जको भेरी अस्पताल, वीरगन्जको नारायणी अस्पताल, तनहुँको जिपी कोइराला राष्ट्रिय श्वास–प्रश्वास उपचार केन्द्र, चितवनको भरतपुर अस्पताल र जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकरण मर्मत गरेको हो ।
केन्द्रले भेन्टिलेटर, डायलाइसिस मेसिन, एनेस्थेसिया मेसिन, भिडियो एक्सरे र अटो क्लेभ मेसिन मर्मत गरेको छ । यस्तै, ब्लडप्रेसर मनिटर, इसिजी मेसिन र पेसेन्ट मनिटर पनि मर्मतपछि सञ्चालनमा आएका छन् । केन्द्रले डेन्टल तथा सर्जिकल सामान रगतको प्लाज्मा छुट्याउने ल्याबका सामान, आइसियू÷सिसियूका सामान, वटी लाइट÷टेबल, इन्फ्युजन पम्प, आइसियू÷पेसेन्ट बेड, माइक्रोस्कप, सिरिन्ज पम्प, इन्फ्युजन पम्प, मुटुलाई सामान्य लयमा ल्याउन प्रयोग गरिने डिफिब्रिलेटरलगायत पनि मर्मत गरिदिएको छ ।
केन्द्रका प्रमुख पुनले हालसम्म पाँच सय उपकरण मर्मत भएको भन्दै यो सक्रियताका लागि स्वास्थ्यमन्त्री प्रदीप पौडेललाई धन्यवाद दिएका छन् । ‘स्वास्थ्यमन्त्रीज्यूको सक्रियतामा १७ वटा संघीय अस्पतालका उपकरण मर्मत सम्भार गरी दिने सम्झौता गरेको थियो । सोही सम्झौताअनुरूप अहिलेसम्म पाँच सयजति उपकरण मर्मत गरेको र करोडौँ रुपैयाँ बचत भएको प्रगति रिपोर्ट छ,’ पुनले भने ।
उपकरण मर्मत गरेपछि के फरक पर्यो अस्पताललाई ?
आविष्कार केन्द्रले मर्मत गरेका सबै उपकरण सरकारी अस्पतालका हुन् । पहिलो चरणमा सबैभन्दा बढी बिरामीको भिडभाड हुने अस्पतालका उपकरण मर्मत गरेर बुझाइएको छ । अस्पताललाई केन्द्रको उपकरण मर्मत गरेर बुझाएपछि त्यसको फाइदा बिरामीलाई समेत भएको छ भने अस्पतालहरूलाई पनि उपकरण बनाउन स्वास्थ्य मन्त्रालयसँग बजेट मागेर हारगुहार गर्नुपर्ने बाध्यता हटेको छ । अधिकांश उपकरण बजेट अभावमा मर्मत हुन नसकेर थन्किएका थिए । वीर अस्पतालका निमित्त निर्देशक डा. समाज गौतमले भेन्टिलेटर, आइसियूमा चाहिने सामान बनेर आएपछि सहज भएको बताए । ‘उपकरणहरू मर्मत–सम्भार भएपछि सहज भएको छ, त्यसको के–कस्तो प्रभाव परेको छ भनेर यथेष्ट बुझ्न मैले इन्जिनियरलाई प्रतिवेदन नै बनाउन लगाएको छु,’ उनले भने । भक्तपुर क्यान्सर अस्पतालका निमित्त निर्देशक डा. उज्ज्वल चालिसेले पनि उपकरण मर्मत भएपछि सहज भएको बताए ।